पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो।
बैठकपछि कार्यदल सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठकबाट अहिले निस्किएको बताए।
‘विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ’, उनले भने,‘सम्भवत आजै निष्कर्षमा पुग्नेगरी तयारी गर्नेछौं।’
कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन।
करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिएका छन्। यद्यपी उक्त छलफलमा दुबैले आ-आफ्नो अडान नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।