पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक सुरू भएको छ।
बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरू भएको हो। आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्याउने भएको छ।
कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन।
करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिएका छन्। यद्यपी उक्त छलफलमा दुबैले आ-आफ्नो अडान नछोडेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।
भेटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाललाई विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। उनले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेपछि नेता नेपाल सहमत नभएको स्रोतले बतायो।
‘तपाईंहरू विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। विपक्षी गठबन्धनले मलाई अप्ठेरोमा पारिरहेको छ। त्यसलाई छोडेर मलाई सहयोग गर्नुहोस्। म अप्ठेरोमा छु’, ओलीले नेपाललाई भनेका थिए।
भेटमा ओलीले जेठ २ को वरिपरि कसरी जाने भन्ने विषयमा कुरै नगरेको स्रोतले दाबी गर्यो।
जवाफमा नेपालले पार्टीलाई मिलाएर अगाडि बढाउनुका साथै राष्ट्रिय समस्याको सबै मिलेर समाधान खोज्नुपर्ने बताएका थिए।
‘पार्टी मिलाएर अगाडि बढ्नुपर्छ। अहिलेका जति पनि राष्ट्रिय समस्या छन्, ती सबैको मिलेर समाधान गर्नुपर्छ। अरूलाई दोष दिएरमात्र हुन्न। त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।
ओलीले भने नेपालसँग विपक्षीलाई सहयोग गर्न दिएको हस्ताक्षर फिर्ता लिनमात्र आग्रह गरेको स्रोतको दाबी छ।
‘उहाँले निःशर्त सहयोग गनुपर्छ जस्तो कुरा गर्नुभयो। हामीले उठाउँदै आएका मुद्दामा सहमतिको कुरै गर्नुभएन। त्यसो भएपछि माधव नेपालले पनि मान्नुभएन’, नेपालनिकट स्रोतले सेतोपाटीसँग भन्यो।
विवाद समाधान कार्यदलमा रहेका नेता नेपालनिकट एक सदस्यले आफूहरू सहमति नजिक पुगेको भए पनि ओली-नेपाल वार्ताले त्यसलाई निष्कर्षमा पुर्याउन नसकेको बताए।
‘हामीले २ जेठ, सर्वोच्चको मुद्दामा केन्द्रीत भएर कुरा उठाएका थियौं र सहमतिनजिक पनि पुगेका थियौं’ ती सदस्यले भने, ‘उहाँहरूले दुई नेता भेटौं, जे गरेर भए पनि सहमति हुन्छ भन्नुभएको थियो। भेट पनि भयो तर सहमति जुटेन।’
ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता हुँदा दुबै पक्षका दोस्रो तहका नेताहरू पनि होटल मेरियटमा पुगेका थिए। ओलीनिकट ईश्वर पोखरेल र विष्णु पौडेल र नेपालनिकट भीम रावल र सुरेन्द्र पाण्डे होटलमा थिए।
सोमवारदेखि शुरू भएको कार्यदलको बैठक सहमति उन्मुख भएको सदस्यहरूले बताउँदै आएका छन्।
विवाद समाधान कार्यदलमा नेपालका पक्षका संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावलले एकतालाई कसरी अघि बढाउने भन्नेबारे दुई नेताबीच छलफल भएको बताए।
‘कार्यदलमा हाम्रो छलफल जारी छ, आज शीर्ष नेताहरूको बीचमा पनि वार्ता भएको छ। अब फेरि हामीले विषयमा प्रवेश गरेर कुराकानी गर्नेछौं, नेताहरूको बीचमा पनि कुरानकानी हुनेछ। यसको उद्देश्य भनेको समस्या समाधान गर्न सहमतिमा पुग्ने हो,’ रावलले भने।