नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीभित्र देखा परेका विवाद समाधान उन्मुख रहेको बताएका छन्।
विवाद समाधानका लागि झण्डै-झण्डै निष्कर्षमा पुगिसकेको उनले बताए।
सिंहदरबारमा आज बसेको कार्यदलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै विष्टले भने, ‘कार्यदलको तेस्रो बैठक सकियो। झण्डै-झण्डै निष्कर्षमा पुगेका छौं।’
उनले पार्टी एकताबारे छोटो समयकै छलफलबाट कार्यदलले निष्कर्ष निकाल्न लागेको बताए। पार्टीलाई एकतावद्ध बनाउन छलफल सकारात्मक रहेको उनको भनाइ छ।
उनले पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनेमा सहमति हुने संकेत गरेका छन्। ‘पार्टीलाई पूर्ववत अवस्थामा फर्काएर क्रियाशील बनाउने कुरा छ,’ उनले भने।
साथै माओवादी केन्द्र छाडेर एमालेमा आएका नेतालाई व्यवस्थापन गर्ने विषयमा पनि सहमति नजिक पुगिएको उनले बताए। ‘धेरै हिसावले सहमति नजिक आइपुगेका छौं,’ उनले भने।