नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बबरमहल प्रकरणमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको संलग्नता संविधान र कानुनको मर्मविपरीत भएको बताएका छन्। त्यसैले श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्ने पनि उनले बताए।
सञ्चारकर्मी रूपा सुनारले बबरमहलकी सरस्वती प्रधानको घरमा डेरा माग्न जाँदा विभेद भोग्नुपरेपछि प्रहरीमा दिएको जाहेरीमाथिको अनुसन्धान नसकिँदै शिक्षा मन्त्रीले हस्तक्षेप गरेका थिए। उनले सरकारी गाडीमा प्रधानलाई राखेर प्रहरी हिरासतबाट लिएर फर्किएका थिए।
मंगलबार सेतोपाटीसँग कुरा गर्दै विश्वकर्माले शिक्षा मन्त्रीजस्तो मान्छेले जातीय छुवाछुतविरूद्धको अनुसन्धान प्रभावित पार्नु गलत भएको बताएका हुन्।
'उहाँले यसबारे मानव अधिकार आयोगमा गल्ती भयो भन्नुभयो रे भन्ने बाहिर बाहिर सुनियो तर उहाँले सार्वजनिकरूपमा आफूले गर्न नहुने काम गरेँ है भनेर क्षमायाचना गरेको वा आफ्ना कुरा राखेको सुनिएको छैन। त्यतिले हुन्न उहाँले सार्वजनिकरूपमा माफी त माग्नुपर्छ,' उनले भने, 'गल्ती भएपछि तत्काल सच्याउनु पर्ने हो।'
उनले यो विषयमा प्रधानमन्त्री, सरकार र सबै राजनीतिक दलको समेत ध्यानाकर्षण गराएका छन्।
बबरमहलमा भएको जातीय विभेदको घटना दु:खद् भएको भन्दै यस्ता घटनाले समाजलाई लज्जित तुल्याउने बताए।
लामो संघर्षबाट आएको लोकतन्त्र, गणतन्त्र र संविधानको मर्मअनुसार सरकार र समाज हिँड्नुपर्ने उनले बताए। व्यवस्थामा आएको परिवर्तनका लागि दलित समुदायको ठूलो योगदान रहेको पनि उनले बताएका छन्।
'परिवर्तनका संवाहक राजनीतिक दल पनि हुन्। उनीहरूले यो विषयलाई गम्भीरतापूर्वक लिऊन् र राज्य जिम्मेवार बनोस्,' उनले भने, 'सरकारका र त्यहाँ रहेका व्यक्तिहरूको अभ्यास संगतिपूर्ण भएनन् भनेर चित्त बुझाउने कुरा हुन्न। संविधान र कानुनको कार्यान्वयनमा गम्भीर हुन सरकारको ध्यान आकृष्ट होस्।'
नेपालको संविधानले नै जातीय आधारमा भेदभाव र छुवाछुत गर्न नपाइने भनिएको छ। जातीय विभेद र छुवाछुत दण्डनीय सामाजिक अपराध पनि भनिएको छ।
कानुनमा पनि जातीय आधारमा विभेद र छुवाछुत गर्ने/ गराउने मानिसलाई ३ वर्षसम्म कैद हुने व्यवस्था छ।
यी सबै संविधान र कानुनका व्यवस्थाको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने विश्वकर्मा बताउँछन्।
'राज्य सबैको अभिभावक हो। उसले न्याय गर्नुपर्छ, त्यसका लागि संविधान र कानुनको कार्यान्वयनमा गम्भीर हुनुपर्यो,' उनले भने।
अहिले पार्टी र सामाजिकस्तरमा जातीय छुवाछुत विरूद्धका अभियान निरन्तर चलिरहेको र तिनलाई सुन्न पनि उनले सबैलाई आग्रह गरे।