भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरूङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सहमति सरकार र माओवादीबीच भएपछि मंगलबारदेखि प्रदेश १ को संसद् सुचारु भएको छ ।
यसअघि मन्त्री गुरुङले सदनमा अमर्यादित भाषा बोलेको भन्दै माओवादी केन्द्रकोले चार दिन संसद् बैठक अवरोध गरेको थियो।
मुख्यमन्त्री शेरधन राई र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच सहमति भएपछि सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
सभामुखले रूलिङ गरेपछि पनि बोलेका मन्त्रीले सांसदविरुद्ध अमर्यादित भाषा प्रयोग गरेका थिए। सभामुखले रूलिङ पछिको भनाइ रेकर्डबाट हटाउ आदेश दिएका हुन्। उनले अबदेखि मर्यादित भाषा प्रयोग गर्न पनि रुलिङ गरेका छन् ।
प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री गुरूङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै उनले माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले बैठक अवरोध गर्दै आएको थियो ।
अहिले प्रदेशसभामा सामाजिक विकास मन्त्रालयको विनियोजन खर्चबारे छलफल भइरहेको छ ।