नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्षले आफूलाई बोल्न समय कम दिएकोमा आपत्ती जनाएका छन्।
सोमबारको बैठकमा श्रेष्ठले विगतमा आफूले आधा घण्टाको समय पाएको तर अहिले १५ मिनेट मात्र दिएकोमा अध्यक्ष गणेश तिमिल्सिनाको आलोचना गरे।
'कता कता निरंकुशताको छिटा, प्रतिगमनको छिटा यहि सदनमा पनि आउन थालेको महसुस भएको छ', श्रेष्ठले भने, 'यहि सदनमा मैले आधा घण्टा बोलेको छु श्रीमान्। अध्यक्ष महोदय। आज २० मिनेट समय हुदाँ हुदैँ नदिने भनेर हुकुम जारी गरियो १५ मिनेटको रुपमा।'
उनले समयका विषयमा राष्ट्रिय सभाका पार्टीबीच समझदारी कायम गरिनुपर्ने जिकिर गरे। 'पहिलाका परम्परालाई हेर्नु पर्दैन। यो कुण्ठित गर्ने दिशामा गइदैँछ। यसमा आपत्ति व्यक्त गर्न चाहान्छु', श्रेष्ठले भने।
सांसद श्रेष्ठले अध्यक्ष तिमिल्सिनालाई प्रधानमन्त्री केपी ओलीलाई सहयोग गरेको आरोप लगाए।
'सम्माननीय अध्यक्षज्यू, यहाँ कुन पार्टीको पहिला हुनुहुन्थ्यो। कुन गुटको हुनुहुन्थ्यो सोच्ने बेला छैन। यहाँ राष्ट्रिय सभाको अविभावकको भूमिकामा हुनुहुन्छ', श्रेष्ठले भने, 'त्यसैले केपी ओलीलाई व्यक्तिगत रुपमा सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नु हुने छैन र राष्ट्रिय सभाको गरिमा र संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा र अपेक्षा म गर्न चाहान्छु।'
उनले राष्ट्रिय सभाका अधिवेशन छिट्टै अन्त्य नगर्न समेत आग्रह गरे।