माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ संसद्को आइतबारको बैठक पनि अवरुद्ध भएको छ।
आजसहित प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ। बैठक सुरु हुने बित्तिकै माओवादी सांसदले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन्।
प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरूङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै उनले माफी माग्नुपर्ने माग गर्दै आएको छ।
यही विषयमा चार दिन लगातार बैठक अवरुद्ध भए पनि सदन सुचारू गराउनेतर्फ सरकारले ध्यान नदिएको आमोवादीको आरोप छ ।
संसद् बैठक अघि प्रदेशसभा सचिवालयमा आयोजित छलफल पनि सहमति बेगरै टुंगेको थियो। बैठकमा सहभागीले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताएका थिए। त्यसक्रममा मुख्यमन्त्री शेरधन राईले सांसदले उत्तेजित बनाएपछि मन्त्रीले त्यसरी बोलेको भन्दै दुवै जनाको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने बताएका थिए । उसलाई माओवादीले अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएको थियो । यसले सदन अवरोध जारी रह्यो ।
सरकारले संसदमा प्रस्तुत गरेको बजेटको नेकपा एमालेकै सांसदहरुको चर्को विवाद भएपछि बजेट संशोधन गर्न कार्यदल बनाएको अर्को विषयमा पनि माओवादी केन्द्रले असहति राख्दै सदनमा सरकारको जवाफ मागेको छ ।
त्यस विषयमा पनि सरकारले सदनलाई जानकारी गराउन नचाहेका कारण समस्या समाधान तर्फ नगएको माओवादी संसदीय दलले जनाएको छ ।