नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ।
यसअघि शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए।
माधव नेपाल पक्षीय नेताहरूले भने पार्टी एकताको लागि प्रयास भइरहेको भन्दै बैठक नराख्न सुझाउँदै आएका छन्। आजका बैठकमा पनि नेपाल निकट नेता बैठकमा उपस्थित छैनन्।
यसअघि बुधबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो। त्यसपछि शुक्रबार केन्द्रीय कमिटीको बैठक बसेको थियो।
बैठक सार्नको लागि नेपाल पक्षीय नेताले ओलीलाई आग्रह गरे पनि बैठक बसेको थियो। सोही बैठकमा ओलीले माधवकुमार नेपाललाई भेटौं भनेर भने पनि उनले भेट्न नचाहेको बताएका थिए।
सहमतिको प्रस्ताव तयार पारिए पनि नेपालले भने प्याकेजमै सहमति खोजेका छन्।