एमाले वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर नेपाल पक्षीय नेताहरूले बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेका थिए।
जवाफमा ओलीले आफूनिकट नेताहरूसँग छलफल गर्ने बताएको स्रोतले जानकारी दियो।
आफ्नो समूहले एकताका लागि पहल गर्ने निर्णय गरेकाले केन्द्रीय कमिटी बैठक स्थगित गर्न नेपाल समूहका नेताहरूले ओलीलाई भनेका थिए। तर ओलीले नेपाल समूहका नेताहरूसँगको छलफललगत्तै केन्द्रीय कमिटीको बैठक सुरू गरेका थिए।
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल पक्षीय नेताहरू सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए।
आजको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षीय नेता सहभागी छैनन्। विष्ट, आचार्य र पाण्डेले सहमतिबिना बोलाइएको बैठकमा आफूहरू सहभागी नहुने जवाफ समेत ओलीलाई दिएका थिए।