नेकपा एमालेका नेता वामदेव गौतमले अहिलेको सरकारले कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको बताएका छन्।
१८ औं धान दिवसमा आज शुभकामना व्यक्त गर्दै अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारले दलाल पूजीवाद र बहुराष्ट्रिय कम्पनीलाई देशमा भित्र्याउने काम गरिरहेको आरोप लगाएका छन्।
‘वर्तमान सरकारले कृषि क्षेत्रमा दलाल पूँजीवाद र बहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने तथा नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको छ,’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघ कृषिको औद्योगिकरण गर्नुपर्ने मान्यता राख्ने उनले बताए। तर कृषि क्षेत्रबाटै समृद्ध मुलुक स्थापना गर्ने दिशातर्फ अग्रसर हुनका लागि सरकारका कार्यकहरू बाधक बनिरहेको उनको भनाइ छ।
गौतमले भूमि बैंकको विरोध गरेका छन्।
‘भूमि बैंक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेन्डा हुन्। इन्डोनेशिया र फिलिपिन्समा पूर्णत असफल कार्यक्रम देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,’ गौतमले भनेका छन्।
साथै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निश्चित व्यापारिक घराना पोस्ने काम गरिरहेको आरोप उनको छ।
‘यो सरकारले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउने काम गरेको छ। यो कर्पोरेट मोडलको कृषि कार्य हो। कृषिमा व्यापारिक कम्पनी हावी हुन्छन् भने कृषक समुदाय विस्थापित हुन्छन्,’ उनले भने।
उनले धान दिवस र रोपाईं महोत्सवका अवसरमा सबै नेपाली कृषकलाई शुभकामना दिँदै कोरोनाको जोखिम कायमै रहेकोले सामाजिक दूरी पालना गर्न पनि भनेका छन्।