नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सर्वोच्च अदालतमा पनि प्रचण्डपथको चर्चा हुने बताएका छन्।
आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डपथ कांग्रेसले अंगालेपछि व्याप्त भएको बताए।
‘नेपाली कांग्रेसले अंगालेपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो कि अहिले प्रचण्ड पथ सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।
उनले सर्वोच्च अदालतमा वकिलले गरेको वहसबारे पनि प्रश्न उठाएका छन्।
‘फान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेको जस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ। अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ, यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
उनले सर्वोच्च अदालतमा यस्तो अभिव्यक्ति दिएका वकिललाई न्यायमूर्तिहरूले रोक नलगाएकोमा असन्तुष्टि जनाएका छन्।
‘आश्चर्य लाग्छ, सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरूत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन। हिंसालाई दुरूत्साहन गर्ने काम अदालतमा गर्न हुन्न भनेर न्यायमूर्तिहरूले त्यो सुझाव पनि राख्न सक्नु हुन्न र?,’ प्रधानमन्त्री ओलीको प्रश्न छ।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको पनि बताए। उक्त कुरा झुट भएको ओलीको दाबी छ। केही दिनअगाडि नेता नेपालले ओलीले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको बताएका थिए।