भौतिक योजना मन्त्री अम्बिरबाबु गुरूङले रोष्टमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ संसदको सोमबारको बैठक अवरूद्ध पारेको छ।
विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरूङले माओवादी सांसद मोहन खड्काको नाम लिएर ‘सदनमा सुध्रेर आउन’ भनेका थिए।
यसलाई माओवादी केन्द्रले मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्न माग गरेको छ।
‘मन्त्रीले रोष्टमबाटै माफी मागेर उहाँको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहनेछ’, माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले भने, ‘मन्त्रीले सदनमा जथाभावी बोल्न मिल्दैन।’
मन्त्रीले आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रूलिङ गरेका थिए भने मन्त्रीको भनाइप्रति असहमति जनाउँदै जनता समाजवादी दलका नेता जयराम यादवले नियमापत्ति जनाएका थिए।
सोमबारको बैठक सुरू हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए। त्यसक्रममा दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अवरूद्ध हुने भनेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगनको घोषणा गरेका थिए।