प्रतिनिधि सभा विघटन मुद्दामा सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू भएको छ।
संवैधानिक इजलासमा जारी सुनुवाइमा सोमबार सरकारका तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस गरेका छन्।
उनले बहसको सुरूमै रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिललाई कटाक्ष गरे।
‘बहस सुनियो। उहाँहरूको बहस सुनेपछि हाम्रा पुराणको याद आयो। हामीकहाँ अठार पुराण छन्। यहाँ अब अर्को पुराण पनि थपिने रैछ- गाली पुराण,’ महान्यायाधीवक्ता बडालले भने,‘गालीको जवाफ गालीले दिन मिल्दैन। अब केही संवैधानिक तथा कानुनी पाटोबारे कुरा गर्छु।’
बडालले अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दा अदालतको क्षेत्राधिकार भित्र नपर्ने भन्दै खारेज गर्न माग गरेका थिए।
इजलासले महान्यायाधीवक्ता कार्यालय, प्रधानमन्त्री र सभामुखका वकिललाई बहसका लागि १५ घन्टा समय दिएको छ।