संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उनले आफू मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र सम्मृद्धिका लागि काम गर्ने बताएका हुन्।
रहरले नभइ बाध्यताले मन्त्रालयको जिम्मेबारी सम्हाल्नु परेको उल्लेख गर्दै उनले कोभिड महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्यायोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेवारी कर्मचारीहरुको भएको भन्दै उनले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरी कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए।
उनले भने, ‘मैले थप जिम्मेवारी पाएको कुनै रहरले होइन बाध्यताले हो। अहिलेको परिस्थितिले हो। म जतिदिन यहाँ हुन्छु त्यत्तिदिन यो मन्त्रालयलाई कसरी राम्रो गर्न सकिन्छ गर्नेछु। त्यसमा तपाईहरुको सहयोग चाहिन्छ। तपाईंहरुले नै गर्ने हो। समस्या आउन नदिने गरि काम गर्नुहोस्। नीतिगत कुरा सरकारले गर्ने हो तर कार्यान्वयन कर्मचारीले गर्ने हो। तपाईंहरु राज्य सञ्चालनको स्थायी संयन्त्र हो। कार्यान्वयन गर्ने तपाईंहरुले हो। कठिन अवस्थामा रहेकाले कसरी काम गर्न सकिन्छ भनेर तत्कालिन, मध्य र दीर्घकालिन कार्ययोजना बनाउनुहोस्।’
मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने निर्णय गरे।
मन्त्री श्रेष्ठले नेपालको विकासको मुख्य स्तम्भमध्ये महत्वपूर्ण स्तम्भ पर्यटन क्षेत्र भएकाले नेपालको ऐतिहासिक महत्व, समृद्ध संस्कृति, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यको भरपुर उपयोग गरी पर्यटन प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए।
नेपाल वायु सेवा निगममा निरन्तर भइरहेको घाटाको कारण उजागर गरी घाटा मुक्त हुने अवस्था सृजना गरी जनतामा सकारात्मक आशाको सञ्चार गर्न निगमलाई निर्देशन दिए। त्यसैगरी मन्त्रालयमा विद्यमान रहेका तत्कालै समाधान गर्न सकिने समस्या समाधानको कार्ययोजना तयार गर्न समेत मन्त्रीले निर्देशन दिए।
युरोपियन यूनियनको कालो सूचीमा नेपालको हवाई क्षेत्र रहिरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै उक्त कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन ठोस कार्ययोजना बनाई काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए।
प्रधानमन्त्री केपी शर्माओलीले यही असार १० गते मन्त्रिपरिषद्का सदस्यहरूको थप जिम्मेवारी हेरफेरका क्रममा श्रेष्ठालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए।