प्रदेश १ को राजधानी सहर विराटनगर महानगरले आउँदो आर्थिक वर्ष २०७८–७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रूपैयाँको बजेट ल्याएको छ।
विराटनगर महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेट चालु वर्षकै आकारको छ।
बजेट अनुसार आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थातर्फ ५ करोड खर्च हुने महानगरले अनुमान गरेको छ।
कार्यालय सञ्चालनतर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगततर्फ ८९ प्रतिशत रहेको बजेटमा उल्लेख छ।
महानगरले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँटबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ।
प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ।
महानगरले वडास्तरीय आयोजनाहरूमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड,अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ।
यस्तै, विराट राजाको दरबार क्षेत्रका लागि ५ करोड, सन्ध्याकालीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइ ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रूपैयाँ विनियोजन गरेको छ।
महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तर्फ ३ करोड बजेट विनियोजन गरेको छ।
नगरसभामा त्रिवर्षीय मध्यकालीन खर्च संरचना अन्तरगत आगामी तीन वर्षको खर्चको अनुमान पनि पेश गरेको छ।
महानगरले आर्थिक वर्ष २०७९र८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०–८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरेको छ।
पछिल्लो चार वर्षको उपलब्धिहरूको समीक्षा गर्दै महानगरले पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेको छ।
दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न गरी ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथसहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको महानगरले जनाएको छ।
पछिल्लो चार वर्षमा पूर्वाधार विकास महाशाखाबाट ११ किलोमिटर कालोपत्रे सडक, ७४ किलोमिटर ग्राभेल, ६४ किलोमिटर रिटेनिङ वाल, ५४ किलोमिटर सडक नाला निर्माण गरेको, २०९ वटा भवन र १०० वटा कल्भर्ट बनाएको, चार वटा मसानघाट र ७ वटा सार्वजनिक शौचालय निर्माण गरेको, दुई वटा खेलमैदान सुधार गरेको महानगरले जनाएको छ।
महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष ४ अर्ब २३ करोड ३ लाख रूपैयाँको आय अनुमान गरेकोमा पछिल्लो १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रूपैयाँमात्र यथार्थ आम्दानी गरेको छ।
यस अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान गरेको भए पनि ८८ करोडमात्र खर्च गर्न सकेको छ।
महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भए पनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख रूपैयाँमात्र आम्दानी गरेको छ।
महानगरले आगामी वर्ष हामी सबैको रहर, शिक्षित, सफा सुन्दर, सुरक्षित र सक्षम विराटनगर भन्ने नारासहित नगर विकासको योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। त्यसका लागि सुशासनमा सुधार ल्याउने, वातावरण संरक्षण र सुरक्षा प्रवर्द्धन, बालश्रममुक्त वडा घोषणा गर्ने, नगरस्तरी खेलकुद विकास समिति गठन गर्ने र खेल प्रतियोगिताहरू सञ्चालन गर्ने, जनस्वास्थ्यलाई ध्यान दिँदै महिला तथा जेष्ठ नागरिक र बाल बालिकाको स्थास्थ्यका क्षेत्रमा विशेष योगदान दिने जस्ता कार्यक्रम अगाडि सारेको उल्लेख छ।
महानगरले २० लाख भन्दा बढीका योजना ठेक्कामार्फत सञ्चालन गर्ने, चालु तथा क्रमागत योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने जस्ता योजना अगाडि सारेको छ ।