नेकपा एकीकृतले निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न पाएको छ।
बुधबार दल दर्ताको प्रमाणपत्रसहित 'कलम' चुनाव चिह्न कलम पाएको नेकपा एकीकृतका अध्यक्ष जीवन राईले जानकारी दिए।
राई एमालेका वरिष्ठ नेता माधव नेपाल निकट युवा नेता हुन्। नेपालकै निर्देशनमा राईले पार्टी दर्ता गरेको बताइएको छ। राईले भने आफू पार्टीभित्र कुनै जिम्मेवारीमा नभएको र कसैको निर्देशनमा पार्टी दर्ता नगरेको दाबी गरेका छन्।
यसअघि राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटाले कलम चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। नेपालनिकट देवकोटालाई कांग्रेस र माओवादीले समर्थन गरेका थिए।
देवकोटाले तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई हराएका हुन्। माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि थापा राष्ट्रियसभा सदस्यबाट निष्कासित भएका थिए।