जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदैछ।
राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार आधिकारिकता दाबी गर्न आयोग जान लागिएको जसपा कार्यकारिणी सदस्य मोहोम्द इस्तियाक राईले सेतोपाटीलाई बताए।
‘हामी आधिकारिकताका लागि निर्वाचन आयोग जाँदैछौं। आयोगले यसको छिनोफानो छिट्टै गर्नेछ भन्ने हाम्रो अपेक्षा छ’, राईले भने, ‘५१ जनाको कार्याकारिणी समितीमा हाम्रो पक्षमा स्पष्ट बहुमत छ। बहुमतको निर्णयलाई आयोगले स्वीकार गर्नुपर्छ।’
यादव पक्षले जसपा कार्यकारिणी बैठक बिहिबार बोलाएको थियो। बिहीबारको बैठकमा ३० जनभन्दा बढीको उपस्थिति रहेको यादव पक्षको दाबी छ।
यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो। त्यस्तै ठाकुर पक्षले पनि यादवलाई निष्कासन गरेको थियो।
दुबै पक्षले एक अर्कालाई कारबाही गरेको जानकारी यसअघि नै आयोगमा बुझाएको थिए। यादवले बहुमत कार्यकारिणीको हस्ताक्षरसहित कारबाहीको पत्र बुझाएका थिए भने ठाकुरले यादवलाई कारबाहीको पत्र मात्रै आयोगमा बुझाएका थिए। आयोगले दुबैको मागलाई अस्वीकार गरेको थियो।