बागमती प्रदेश सभाको बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्तिति जनाएको छ। शनिबार विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको हत्या गर्ने बारे दिएको धम्कीलाई गम्भीर रूपमा लिएको जनाएको छ। प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेको ठहर छ ।
'बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रूपमा लिएको छ,' प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।'
शुक्रबार बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।