नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन्।
कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन।
अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य पुगेका छन्। कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेको छ तर सिन्धुपाल्चोकलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण नै भएको छैन।
यस्तो अवस्थामा पूर्वनिर्धारित समयमा महाधिवेशन हुन गाह्रो भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहेका छन्।
सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमै महाधिवेशन हुने प्रष्टाएका छन्।
‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- भदौमा महाधिवेशन हुन्छ,’ देउवाले भनेका छन्।
देउवाले महाधिवेशनका लागि तयारी गर्नुपर्ने पनि उल्लेख गरेका छन्। उनले पार्टी महाधिवेशनलाई लिएर बिबादित कुरा नगर्न पनि नेताहरूलाई आग्रह गरेका छन्।
कांग्रेसलाई संकटबाट बचाउन भदौभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ। देउवाले आफ्नो नियमित कार्यकाल चार वर्ष सकेर डेढ वर्ष कार्यकाल थपेका थिए।
पछिल्लोपटक संविधानअनुसार थप गरिएको छ महिना समय भदौमा सकिँदैछ।
हेर्नुस् विज्ञप्ति: