लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ।
प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेशसभामा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
सरकारका प्रवक्ता वैजनाथ चौधरीले आज दिउँसो ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तूतका लागि बैठकले सिफारिस गरेको बताए।
विपक्षी गठबन्धनको भने सरकारको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला विधि र प्रक्रियाबाट नीति तथा कार्यक्रम ल्याउन आग्रह छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूद्धिन खाँनले वैशाख १९ गतेको सरकारको नियुक्ति र सपथ संविधानको एउटा धाराबाट गरिएकोमा जेठ ३ गतेको सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको स्वरुप परिवर्तन गरिदिएको भन्दै सरकार कुन विधि र प्रक्रियाबाट गठन भएको हो प्रदेशसभालाई स्पष्ट पार्न आग्रह गरे।
वैशाख १९ गते संविधानको धारा १६८ को १ अन्तर्गत मुख्यमन्त्रीको नियुक्ति र सपथ गरिए पनि जेठ ३ गतेको सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको स्वरुप धारा २ अन्तर्गत परिवर्तन गरिदिएको छ, सरकारले यसको प्रक्रिया प्रारम्भ गर्ने कि नगर्ने?’ उनको प्रश्न छ ।
खाँनले सरकारले ल्याउने नीति तथा कार्यक्रममा आफूहरूको कुनै अवरोध नरहे पनि सरकारसामू वैधानिकताको प्रश्न उठाईरहने बताए। उनले सरकारलाई संविधानको मूल्य मान्यतालाई आत्मसात गर्दै विधि र प्रक्रियाबाट अगाडि बढ्न आग्रह गरे।
यस्तै, लुम्बिनी प्रदेश सरकारले कोभिड- १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड रूपैयाँ थप गरेको छ। मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि १० करोड रुपैयाँ थप गरेको मन्त्री चौधरीले बताए।