नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी राजनीतिलाई विकृत बनाउन ‘सुकुलगुण्डा’ समूह त खडा भएको होइन भन्दै प्रश्न गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको आह्वान गर्दै आइतबार राति ६ बुँदे प्रस्ताव अगाडि सारेपछि आफूहरूविरुद्ध फेरि अनर्गल प्रचार शुरु भएको बताएका छन्।
‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ नेता भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्।
उनले पञ्चायत कालमा जस्तै अहिले एमालेमा पनि ‘सुकुलगुण्डा’ समूह खडा भएको त हैन? भन्दै प्रश्न गरेका छन्।
‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धरासायी हुनुमा त्यस समूहको कम्ति योगदान दिएन,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भुसालले भनेका छन्, ‘त्यसबेलाका कतिपय पञ्चहरुले त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु। आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम त्यस्तै हुने त होइन ?’
उनले आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह खडा भएको आशंका गर्दै धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका स्मरण गराउँदै परिणाम पनि त्यस्तै हुने त होइन? भनेका छन्।