प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर समूहबाट मन्त्री बनेका चार जनालाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री राउतले एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जनालाई आइतबार साँझ बर्खास्त गरेका हुन्। बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरू छन्।
महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग वन पर्यटन राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए।
यसअघि जनता समाजवादी पार्टीले आजै प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेको थियो।
बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन्। तालमेल गरी चुनाव लडेका यी दुईले समाजवादीका नेता राउतको नेतृत्वमा प्रदेश सरकार बनाएका थिए। गत वर्ष पार्टी मिलेर एक भएपछि एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन। ५५ सांसद मध्ये ३६ सांसद राउतको पक्षमा छन्।
प्रदेश प्रमुखद्वारा मन्त्रिपरिषद हेरफेर
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेसँगै प्रदेश प्रमुख राजेश झाले नेपालको संविधान मबोजिम निम्नानुसार हेरफेर र कार्यविभाजन गरि मन्त्रिपरिषद कायम गरेको जनाएका छन्।
मन्त्रीबाट बर्खास्त गरिएका भौतिक पूर्वाधार विकासमन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेतासमेत हुन्।
पूर्वराजपाबाट प्रदेश २ सरकारमा प्रतिनिधित्व गरिरहेका चारजनालाई राउतले बर्खास्त गरेपनि सोही पार्टीबाट सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय भने जोगिएका छन्।
साह र राय पछिल्लो समय महन्थलाई छोडेर उपेन्द्र ‘क्याम्प’ तिर आएका थिए।
महन्थपक्ष प्रधानमन्त्री ओली नेतृत्वको सरकार सहभागी भएसँगै प्रदेश २ मा मन्त्रिमण्डल हेरफेरको सम्भावना बढेको थियो। र, यसै सिलसिलामा जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबार जनकपुर पुगेका थिए।
शुक्रबारदेखि लगातार तीन दिन पार्टीका प्रदेश सांसद, विपक्षी दलका नेतालगायतका नेतासँग उनले छलफल गरेका थिए।