बंगलादेशमा पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर सुम्पिनुपर्ने बाध्यता रहेको भनेर विवादास्पद टिप्पणी गरेपछि राजीनामा दिएका तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पुनः स्वास्थ्यमन्त्रीका रुपमा सरकारमा फर्कन लागेका छन्।
कानुनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि सम्हालेका तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा २०७५ साउन ८ गते पदबाट राजीनामा दिएका थिए।
मन्त्रीबाट राजीनामा दिए पनि पार्टी राजनीतिमा सक्रिय उनी पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहमा लागेका थिए।
तर उनले त्यो निर्णयमा हेरफेर गर्दै ओली समूहमै फर्किने निर्णय लिएका थिए। संकटका बेला आफूलाई साथ दिएको भन्दै ओलीले उनलाई अहिले एमालेको केन्द्रीय कार्यालयको सचिवालयको जिम्मेवारी दिएका छन्। आज हुने मन्त्रिपरिषदको विस्तारमा उनी स्वास्थ्य मन्त्री भएर सरकारमा जान लागेका हुन्।
यसअघि एमालेको सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र सांसद हृदयश त्रिपाठीले स्वास्थ्य मन्त्रालय सम्हालेका थिए।
नेपाल समूह छाडेपछि अहिले उनकी पत्नी एवम् सांसद उषाकला राई पनि प्रदेश १ मा सामाजिक विकास मन्त्रीको भूमिकामा रहेकी छन्।