सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टको ओली पक्षका एमाले सांसद र प्रतिपक्षी दलले राजीनामा मागेका छन्।
शुक्रबारबाट शुरू भएको प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनीहरूले मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका हुन्।
सांसद तथा पूर्वमन्त्री पठानसिंह बोहराले एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको कुरा संसद सचिवालयमा दर्ता भइसकेकाले अल्पमतमा रहेका भट्टले राजीनामा दिनुपर्ने बताए ।
बोहराले एमाले सरकारको समर्थनमा नरहेकाले सत्तापक्षको लहरमा बसाई व्यवस्थापन सही नभएकाले प्रतिपक्षका रूपमा बसाई मिलाउन आग्रहसमेत गरे।
यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सुदूरपश्चिम सरकार कसको हो आफूहरूलाई थाहा नभएको बताएको छ। सरकारलाई दिएको समर्थन एमाले केन्द्रले फिर्ता लिइसकेको छ। लोकतान्त्रिक हैसियतले अहिलेको माओवादी केन्द्रको नेतृत्वमा सरकार अल्पतको सरकार भएको कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले बताए ।
नेता रावलले समयमै यो सरकारले विश्वासको मत लिनुपर्ने जिकिरसमेत गरे। उनले विधि र प्रक्रिया अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिन अनुरोध गरे।
रावलले जेठ १४ गते गरिएको मन्त्रिपरिषद विस्तार ठिक नभएकोसमेत बताए। ‘भताभुङ्ग अवस्थामा सत्ता बचाउन साँठगाँठ गरिएको जनताले भनेका छन्,’ उनले भने।