प्रदेश नम्बर २ ले संघीय सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा सभावेश भएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन आग्रह गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति निकालेर बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गरेका छन्।
केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी मुख्यमन्त्री राउतको छ।
सरकारले चुरे दोहन हुने गरी ल्याएको कार्यक्रमबारे गम्भीर ध्यानाकर्षण भएको पनि उनले उल्लेख गर्दै आज विज्ञप्ति निकालेर विरोध गरेका छन्।
सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रूपमा रहेको भन्दै उनले जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकोले विरोध गर्नुपरेको बताउँछन्।
‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। चुरे दोहनले सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित छ,’ उनले भनेका छन्, ‘सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नम्बर २ बाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारका रूपमा रहेको भू-भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको विल्लीबाठ हुने निश्चित छ।’