प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाइ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको बताए।
जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई उनले निर्देशन दिए।
‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाइ जितिन्छ, अन्यथा लडाइ गरिरहनु पर्ने भयो’ उनले भने।
पालिकाहरूसँग समन्वय गरी होम आइसोलेशनमा बस्नेको संख्या, जँचाउन आए/नआएको विवरण र तिनको अवस्थाबारे सम्पूर्ण जानकारी लिएर जरुरत पर्ने कुरामा अभाव हुन नदिन पनि उनले निर्देशन दिए।
प्रधानमन्त्री ओलीले केन्द्रबाट संक्रमणको अवस्थाबारे सम्पूर्ण तथ्यांक लिई उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन गर्न सुझाव दिए।
विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको ओलीले बताए। अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजबाटै ल्याउने, लिक्वीड अक्जिजन सिलिन्डरकै व्यवस्था गर्न पनि सरकार लागिपरेको उनले दावी गरे।
अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्थाभन्दा अहिले उल्लेख्य सुधार आएको प्रधानमन्त्रीको भनाइ छ।