अष्ट्रेलियाले अफगानिस्तानमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ।
अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुने क्रम बढिरहेको अवस्थामा अष्ट्रेलियाले काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो।
अफगानिस्तानमा बढ्दो क्रममा रहेको सुरक्षा वातावरणको अन्योलको कारण दूतावास बन्द गर्ने निर्णय गरेको एक विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालयले जनाएको छ।
अष्ट्रेलियाका कूटनीतिक अधिकारीले अन्य क्षेत्रबाट नियमित अफगानिस्तानको भ्रमण गर्ने बताएको छ।
‘अष्ट्रेलिया अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्धमा प्रतिबद्ध छ र अन्य मुलुकसँग मिलेर अफगानिस्तानको विकास र स्थायित्वको लागि सहयोग गर्ने काम जारी राख्नेछौँ,’ अष्ट्रेलियाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
अमेरिकाले आगामी सेप्टेम्बरबाट अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक फिर्ता गर्ने निर्णय गरेसँगै अफगानिस्तानको सुरक्षाबारे आशंका बढेको छ।
पछिल्लो दुई वर्षमा अष्ट्रेलियाले पनि अफगानिस्तानमा आफ्ना सैनिकको संख्या १५ सयबाट घटाएर करिब ८० मा झारेको छ । अमेरिका र नेटोका अधिकारीहरुले पछिल्लो समय अफगानिस्तानमा तालिबानले हिंसा घटाउँदै लैजाने प्रतिबद्धता पूरा नगरेको बताउँदै आएका छन्।
अफगानिस्तानले भने यो निर्णय अस्थायी हुने र अष्ट्रेलियाले पुनः स्थायी रुपमा अफगानिस्तानमा उपस्थिति जनाउने विश्वास व्यक्त गरेको छ ।