पार्टी निर्देशन विपरित राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गरेका एमालेको प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् ।
पार्टी उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारको पक्षमा मतदान गरेको भन्दै प्रदेश संसदीय बोर्डले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो ।
स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा आज स्पष्टीकरण बुझाएका हुन् ।
बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यसँग स्पष्टीकरण माग गरेको थियो ।
प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतकले बताएका छन् ।
“उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ”, ओली पक्षका एक सांसदले भने ।
बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीसँग स्पष्टीकरण माग गरेको थियो ।