प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने प्रयासमा आफ्नो सरकार रहेको बताएका छन्।
६५ वर्षमाथिका नागरिकले कोभिसिल्डको खोपको दोस्रो डोज कहिले लगाउन पाउँछन् भन्ने टुंगो नभएका बेला प्रधानमन्त्री ओलीले आफूले घोषणा गरेको कात्तिक-मंसिरको मध्यावधि चुनावअघि नै सबै नेपालीलाई खोप दिने प्रयास भइरहेको बताए। त्यसका लागिमा मित्र राष्ट्र र दातृ निकायसँग कुरा भइरहेको उनको भनाइ छ।
यसअघि गत वर्ष पनि प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप पाइसक्ने दाबी गरेका थिए। पछि उनले आफ्नो भनाइ सच्याउँदै सबै फ्रन्ट लाइनमा रहेकालाई खोप दिने बताएका थिए।
खोप दिनुपर्ने बेला बेला सरकारले जनतालाई भोट हाल्न भन्यो भन्दै केहीले सेन्टिमेन्टल ब्ल्याकमेल गरेको ओलीको भनाइ छ।
'त्यो प्रचण्ड र माधव नेपालहरूको खेती हो,’ प्रधानमन्त्री ओलीले भने,‘त्यस्तो भन्नेहरू सेन्टिमेन्टल ब्ल्याकमेलर हुन्। जनताले भोट हाल्ने आफ्नो सार्वभौम अधिकार केही कुरासँग पनि साट्दैनन्।’
दुईटा फरक विषयलाई जोडेर जनतालाई दिग्भ्रमित पार्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाए।