प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आफ्ना सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिन राष्ट्रपति विद्या देवी भण्डारीलाई पत्र पठाएका छन्।
संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि कांग्रेस सभापति देउवाले गरेको दावीमा २६ जना सांसदले हस्ताक्षर गरेका छन्। २७ जना सांसदको नाम रहे पनि योगेश भट्टराईले हस्ताक्षर गरेका छैनन्।
राजनीतिक दल सम्बन्धी व्यवस्था अनुसार अरू दलको उम्मेदवारलाई त्यसरी समर्थन गर्न नपाइने भएकाले पत्र पठाइएको प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले सेतोपाटीलाई बताए।
'पहिला त हामीले हस्ताक्षरबारे एकिन गर्छौ। जुन जुन सांसदले मेरो हस्ताक्षर हो भन्नुहुन्छ उनीहरूलाई कारबाही हुन्छ,’ उनले भने, ‘अहिले हामीले कारबाही गरेका छैनौं। त्यो हस्ताक्षरलाई मान्यता नदिनू मात्रै भनेको हो। किनकि, आफ्नै पार्टीको संसदीय दलको नेताले दावी पेश गरेको बेलामा अरू उमेदवारको पक्षमा हस्ताक्षर गर्नु गैर कानुनी हो।’
एक सय ४९ सांसदको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनको दलका ६१ र माओवादी केन्द्रका ४९ जना सांसदको समर्थनसँगै जनता समाजवादी पार्टीका १२ र नेकपा एमालेका २६ सांसदले समर्थन गरेका छन्।
कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्ति अनुसार एमाले माधव कुमार नेपाल समूहका २७ मध्ये २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ। जनमोर्चाबाट दुर्गा पौडेल सांसद छिन्।
उता एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा मागवादी गर्दै बुझाएको पत्रमा जसपाका ३२ जना र एमालेका १२१ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्।