प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।
'उहाँहरूबीच संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति भएको छ। यसको नाम जे राखिए पनि त्यो संविधान संशोधनकै लागि हो,' ठाकुरनिकट जसपा नेता सुरेन्द्र झाले सेतोपाटीसँग भने,'कार्यदलको घोषणा आज हुन्छ होला। उहाँहरूबीच जे-जस्ता सहमति भएका छन् ती सबै आज सार्वजनिक हन्छन्।'
यो विषयमा सहमति भए ठाकुर-महतोले उठाउँदै आएका माग सम्बोधन हुन्छन्। यस्तो अवस्थामा ओली नेतृत्वको सरकारमा जाने घोषणा यसअघि नै ठाकुर-महतो पक्षले गरिसकेको छ। आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।