राष्ट्रिय सभाको उपनिर्वाचनमा विजयी भएका खिमलाल देवकोटाले आफ्नो जित सरकारविरूद्धको आवाज भएको भएको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवकोटाले विपक्षी दलहरूको सहयोगले आफूले विजय हासिल गरेको बताए।
'म स्वतन्त्र रूपमा उठेको भएकाले धेरै बोल्दिनँ। तर यो सरकारले जेजस्तो काम गरिरहेको छ त्यसविरूद्ध एक ठाउँमा भएको मत हो,'उनले भने,'यो सरकारले विधी परम्परा र संविधान मिचेको छ। त्यसकै परिणाम मेरो मत आएको हो।'
उनले आफ्नो जित एउटा व्यक्तिको मात्रै नभएर यो संविधान र संघीय व्यवस्थाप्रति विश्वास राख्नेहरूको भएको बताए।
आफूलाई कांग्रेस, माओवादी, एमालेका शिर्ष नेताहरूको सहयोग र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सहयोग भएकाले विजयी हुन सम्भव भएको बताए।
देवकोटालाई एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षको समर्थन थियो।
उनलाई कांग्रेस-माओवादीको पूर्ण समर्थन थियो।
एमाले पृष्ठभूमिका देवकोटा संघीयता विज्ञ हुन्।
स्थानीय शासनमा उनको विशेष दख्खल छ। केही समय देवकोटा बागमती प्रदेश सरकारको योजना आयोगको उपाध्यक्ष समेत भएका थिए।देवकोटा एमालेको खनाल-नेपाल समूहसँग निकट छन्।