नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकका लागि कोरोना खोप लगाउने व्यवस्था गर्न सरकारलाई दवाब दिने बताएका छन्।
प्रदेश नम्बर २ का नेता/कार्यकर्तासँग आज भर्चुअल अन्तर्क्रिया गरेका देउवाले सरकारलाई खोप ल्याउने र नागरिकलाई लगाउने चिन्ता नभएकोले खबरदारी गर्नुपरेको बताए।
‘खोपको चिन्ता यो सरकारलाई छैन। खोपका लागि आवाज उठाउँदै दवाब दिऔं,’ उनले भने। साथै उनले अक्सिजन तथा भेन्टिलेटरलगायत व्यवस्थापन गर्ने काम सरकारले नगरेको आरोप लगाए।
‘अक्सिजन प्लान्ट स्थापना गर्ने काम सरकारको प्राथमिकतामा परेको छैन,’ उनले भने, ‘अस्पतालमा भेन्टिलेटर व्यवस्थापन गर्न र खोप ल्याउन दवाब दिनुपर्छ।’
उनले कांग्रेस सरकारमा नरहेकोले सीमित स्रोत साधनमा पनि सहयोग जारी राख्दै सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताए। आफू बाँच्ने र अरूलाई बचाउने अभियानमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरेका छन्।
साथै सरकारलाई वैदेशिक सहायता आउने देखिए पनि सरकारले पहल नगरेको देउवाको आरोप छ। सरकार उदासिन रहेको उनले बताए।