नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकका लागि कोरोनाविरूद्ध खोप लगाउन सरकारलाई दवाव दिने बताएका छन्।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्र र प्रदेश तथा स्थानीय सरकारलाई घच्घच्याउने र आफूले पनि सहयोग गर्नुपर्ने देउवाको भनाइ छ।
पार्टीका सहमहामन्त्री प्रकाशशरण महत संयोजक रहेको कोरोना अनुगमन समितिले आज गण्डकी प्रदेशस्तरमा गरेको भर्चुअल अन्तर्क्रियामा सभापति देउवाले सरकारले आवश्यकताअनुसार खोप ल्याउन नसकेको पनि बताए।
‘यो सरकारले खोप व्यवस्थापन गर्न सकेको छैन। सरकारलाई हामी काठमाडौंमा दवाव दिन्छौं तपाईंहरू त्यहाँ प्रदेशमा पनि दवाव दिनुहोस्,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने।
पिसिआर परीक्षण, अस्पतालहरूमा शय्यादेखि अक्सिजनलगायत व्यवस्थापन गर्ने काम सरकारको भएको देउवाको भनाइ थियो। ‘अक्सिजन प्लान्ट राख्ने काम पनि सरकारकै हो,’ उनले भने।
सबै नागरिकलाई कोरोनाविरूद्ध खोप दिलाउन सरकारलाई बाध्य बनाउनुपर्ने पनि उनले बताए।