सुदूरपश्चिममा एमालेको सरकार गठनबारे चर्चा सुरु भएको छ।
माओवादी केन्द्रबाट बनेका वर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाएर एमालेको सरकार गठन गर्न केन्द्रको निर्णय पर्खिरहेको सांसदहरूले बताएका छन्।
मुख्यमन्त्री भट्टले पदबाट हटाइदिएका पूर्वभौतिक पूर्वाधार मन्त्री एंव एमाले सांसद पठानसिंह बोहराले अब अहिलेको सरकार परिवर्तन हुने बताए।
‘यो सरकार हिजो एक परिस्थितिमा बनेको थियो। अहिले फरक परिस्थिति छ। संसदमा ठूलो दल एमालेको सरकार गठनका लागि काम हुन्छ,’ उनले भने।
एमाले सांसदहरूले सरकार गठनबारे केन्द्रको निर्णय कुरेको बताएका छन्।
माधव नेपाल पक्षका सांसद तारा लामा तामाङले केन्द्रले जे भन्छ त्यही हुने बताए।
‘अहिले कोरोनासँग कसरी लड्ने भन्ने नै मुख्य विषय छ, सरकारबारे केन्दमा जे हुन्छ यहाँ पनि त्यही हुने हो,’ उनले भने।
नेकपा एमालेमा देखिएको विवाद समाधानतिर गएपछि प्रदेशमा त्यसको प्रभाव परेको हो। एमालेमा एकता कायम रहे सुदूरप्रदेशमा उसको सरकार बन्ने सम्भावना बलियो छ।
केन्द्रमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओली सरकारलाई साथ दिएजस्तो यहाँ पनि जसपा सांसदले आफूहरूलाई सघाउने उनीहरूको आश छ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५, कांग्रेसका १२, माओवादीका १४ र जसपाका २ जना सांसद छन्। माओवादीका एकजना सांसद निलम्बनमा परेका छन्।
सरकार गठनका लागि २७ सांसद आवश्यक पर्ने भएकाले एक्लै बहुमत कुनै पनि पार्टीको छैन।
कांग्रेस-माओवादी वा एमालेको सरकार बनाउन जसपाको समर्थन चाहिन्छ।