नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । उक्त समय भित्र धारा ७६(२) अनुसार कसैको पनि दाबी नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरे पनि अन्तिम समयमा आएर नेकपा एमालेको खनाल-नेपाल पक्षले असहयोग गरेपछि वैकल्पिक सरकार बनाउने योजना खेर गएको थियो।
यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्।
विसं २०७४ को आम निर्वाचनमा वाम गठबन्धन बनाई बहुमतसहित विजयी भएपछि एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिमा २०७४ फागुन ३ गते ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए।
त्यसअघि उनी विसं २०७२ असोज २४ मा प्रधानमन्त्री भएका थिए। एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल पक्षबीच विवाद बढेपछि प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तय गरेका थिए।
उक्त विघटनविरुद्धको रिट निवेदनमा गत फागुन ११ गते सर्वाेच्च अदालतले विघटनलाई संविधानसम्मत नभएको ठहर गरी प्रतिनिधिसभा पुनःस्थापन गरेको थियो। सोहीबीचमा फागुन २३ गते अर्काे एक मुद्दामा सर्वाेच्च अदालतले फैसला गर्दै नेकपाका नाममा अर्काे पार्टी पूर्ववत् रहेकाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउने ठहर गरेको थियो।
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने र एमालेभित्रकै एक पक्ष नयाँ सरकार बनाउने कसरतमा लागेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन सिफारिस गरेका थिए।
विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका प्रधानमन्त्री ओली निरंकुश पञ्चायतविरोधी झापा विद्रोहकालीन जीवित नेतामध्ये एक हुन्।
आन्दोलनकै क्रममा डेढ दशक लामो कारागार जीवन बिताएका उनी विसं २०७१ असारमा एमालेको निर्वाचित अध्यक्ष भएपछिको आम निर्वाचनमा एमाले ठूलो दलको हैसियतमा जनमत प्राप्त गर्न सफल भएको थियो।
प्रधानमन्त्री भएको एक महिनापछि ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन्। ओली पदमुक्त भएर संविधानको धारा ७६ को ५ अन्तर्गत प्रधानमन्त्री बन्ने अवस्था आउँछ।
