सत्ता समिकरणलाई लिएर दुई धारमा विभाजित जसपा नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग परामर्श गरेका छन्।
पार्टी कार्यालय बालकुमारीमा तीन नेताबीच छलफल गरेको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
‘पार्टीमा एक पक्षीय, दुई पक्षीय र बहुपक्षीय छलफल चलिरहन्छ। सत्ता समिकरण गर्ने विषयमा कसलाई सघाउने भनेर सहज होस भनेर हो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बेलामा विपक्षमा मत दिने र तटस्थ रहने दुवै काम भएको थियो। अब एकै ठाउँमा हुनुपर्छ भन्ने हो।’
यसअघि ठाकुर र महतोले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेट गरेका थिए।
प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि, नगर्ने विषयमा जनता समाजवादी पार्टीभित्र मतभेद छ। अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूहले कांग्रेसलाई सहयोग नगर्ने भनेको छ साथै भने बाबुराम भट्टराई र यादव समूहले कांग्रेससँग मिल्ने भनेको छ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन बिहीबारसम्म दलहरूलाई समय दिएकी छन्।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको विपक्षमा १२४ मत आएको थियो। जबकि, बहुमत पुग्न १३६ मत चाहिन्थ्यो। जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका १५ सांसदले विपक्षमा मतदान गरेका थिए। प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत आएको थियो। १२१ सांसद रहेको एमालेमा नेपाल पक्षका २८ जनाले ओलीलाई मत नदिएका हुन्।
जसपाभित्र नयाँ सरकार बनाउनेबारे विवाद देखिएकोले काग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन एमाले नेता नेपाल पक्षका सांसदको भर पर्नुपरेको हो।
नेता नेपाल पक्षले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत फागुन २८ का निर्णय फिर्ता लिँदै २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने माग राखेका छन्। तर ओलीले यो माग पूरा गर्न नसकिने बताइरहेका छन्।
कांग्रेसले सरकार बनाउन भर परेको अर्को पक्ष भनेको एमालेभित्रकै हो। नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले सोमबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएनन्। उनीहरू प्रतिनिधि सभामै अनुपस्थित रहेका थिए।
नेपाल पक्षले सहयोग गरेमा देउवा प्रधानमन्त्री हुन सक्ने निश्कर्षमा कांग्रेस पुगेको छ। नेपाल पक्षका सांसदहरूले राजीनामा दिए भने प्रतिनिधि सभामा सांसदको संख्या खुम्चने र देउवालाई बहुमत पुर्याउन सहज हुने कांग्रेसको विश्वास छ।
जसपामा दुई निलम्बितसहित ३४ जना सांसद छन्। कांग्रेसमा दुई निलम्बितसहित ६३ र माओवादी केन्द्रका ४८ सांसद प्रतिनिधि सभामा छन्। यस्तै राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका एकेक सांसद छन्। साथै संसदको ठूलो दल एमालेका १२१ सांसद छन्।
यो पनि
उपेन्द्र-बाबुरामले देउवालाई सघाए महन्थले पनि राष्ट्रपतिलाई पत्र पठाउने