सर्वोच्च अदालतले कोरोना संक्रमितहरू बढ्दै गएकाले आवश्यक औषधि, अक्सिजन आपूर्ति सहज बनाउन र थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारलाई आदेश दिएको छ।
अधिवक्ता शैलेन्द्र कुमार अम्बेडकरले दिएको रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधी र अक्सिजनको व्यवस्थापन गर्न सरकारलाई आदेश गरेको हो। व्यवस्थापन गर्न आवश्यकता अनुसार एउटा समिति समेत निर्माण गर्न सर्वोच्चले भनेको छ।
'आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनु साथै अस्पतालहरूमा विरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तकाल गर्नु र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने यी उल्लेखित कुराहरूको व्यवस्थापनको लागि आवश्यकता अनुसार समबन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्यसमितिसमेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नू/ गराउनू,' सर्वोच्चको आदेशमा उल्लेख छ।
कोरोना संक्रमित दिनदिनै बढेपनि कसैले पनि उपचारबाट बञ्चित हुन नहुने पनि सर्वोच्चले भनेको छ।