संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीका दुई नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारे फरक-फरक धारणा राखेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले घरि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे घरि उनीसँग गुनासो गरे। संविधान संशोधन नभएको र अझै पार्टीका सांसद रेशम चौधरी जेलमा रहेको र सयौं नेता कार्यकर्ता जेलमा रहेको भन्दै उनले विश्वासको मतमा तटस्थ बस्ने बताए।
ठाकुरपछि बोलेका जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारको चर्को आलोचना गरे। उनले ओली सरकारले कोरोनाको दोस्रो लहर फैलाउन उक्साएको र बजेट-डिजाइन नभएका आयोजनाका शिलान्यास र काम पूरा नभएका आयोजनाको उद्घाटन गरेको बताए।
उनले प्रधानमन्त्री स्वंयलाई संसदप्रति विश्वास नभएकाले कसरी विश्वासको मत माग्नुहुन्छ भनेर प्रश्नसमेत गरे।
अन्तिममा उनले आफूहरूले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने बताए। उनले आफूहरूले संसदमा ओली सरकारको विकल्प पनि खोज्ने बताए।
जसपाले आफ्ना संसदहरूलाई पक्ष/विपक्षमा मतदान गर्न वा तटस्थ बस्नेबारे स्वतन्त्र छोडिदिएको छ।