प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग आफ्नो आग्रह पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो कसैसँग आग्रह पूर्वाग्रह छैन। मैले काममै लागेर तपाईहरू कतिलाई फोन गर्न समेत नभ्याएको हो।’
ओलीले सभामुख अग्नि प्रसाद सापकोटासँग पनि कुनै मनमुटाव नभएको जिकिर गरेका छन्। आफूलाई यहि सदनले प्रधानमन्त्री बनाएको उल्लेख गर्दै ओलीले विगतदेखि अहिलेसम्म सभामुखसँग कुनै पनि प्रकारको पूर्वाग्रह नभएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीले सरकारले असाधारण र दुरगामी महत्वका काम गरेको र मान्छे बस्न लायकको देश बनाउनुको साथै हेर्न लाज नहुने समाजको निर्माण गरेको दाबी गरे।
उनले अराजनीतिक हतकण्डा अपनाउने काम वर्तमान सरकारले नगर्ने, कसैलाई विभेद नगर्ने भन्दै विश्वास नगर्नुपर्ने कुनै कारण नै नरहेको बताए। सरकारले देश र जनताका लागि वर्तमान सरकारले असाधारण काम गरेको भन्दै उनले सत्यलाई स्वीकार गर्ने हो भने आफूलाई विश्वास नगर्नुपर्ने कारण नरहेको दाबी गरे।
‘सत्यलाई स्वीकार गरेर अघि बढ्ने हो भने यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । यस सदनको विश्वास छ भन्ने आवश्यक ठानेकाले म यस सदनमा उपस्थित भएको छु । सदनको आफुमाथि विश्वास छ भन्ने कुरा प्रष्ट गर्न चाहेको हो’, उनले भने।
उनले राजनीति भनेको स्वार्थ पुरा गर्ने शस्त्र मात्रै नभएको भन्दै देश बनाउने संकल्पका रुपमा बुझ्न आग्रह गरे।
‘राजनीतिक शक्तिहरुका बीचमा घाउ कोट्याई कोट्याई, किन चुडिँदैन भनेर तानी तानी चुडाँउने, किन भत्किदैन भनेर भत्काउने र पनि शान्ति सुव्यवस्थाको स्थिति छ । सभामुख महोदय, राजनीतिलाई के बनाईरहेका छौ हामीले? राजनीतिलाई स्वार्थको दुनो सोच्याउने शस्त्रको रुपमा पनि बुझ्दैछौ कि? देश बनाउने संकल्पको रुपमा बुझ्दै छौ राजनीतिलाई । राजनीति देश बनाउने । राजनीति देश र जनताको सेवा गर्ने एउटा माध्यम हो,’ उनले भने।
संसद पुर्नस्थापना भईसकेपछि पनि अहिलेसम्म आफूलाई कसैले अविश्वास नगरेको भन्दै उनले विश्वासको मत दिनको लागि आग्रह गरे। उजले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै पार्टी भिन्न भईसक्दा पनि आफूले विश्वासको मत लिन्छु नभन्ने बेलासम्म समर्थन फिर्ता नलिइएकाले सुदृढ समर्थन रहेको भन्दै फेरि पनि विश्वासको मत दिन आग्रह गरे।
‘पार्टी अलग भईसक्दा पनि समर्थन फिर्ता त लिनुभएन। कति सुदृढ समर्थन रहेछ त । मैले आफैले विश्वासको मत लिन्छु नभनेसम्म त समर्थन फिर्ता लिनुभएन । केही दिन भएको छ । केही विग्रिएको छैन । आज फेरि विश्वासको मत दिनू। यदि कसैले नदिने निर्णय गरेर आउनुएको छ भने पनि नेताले यही दिनु भन्दिएपछि सांसदहरु खुसी हुनुहुनेछ । म आज संविधानको धारा १ सय को उपधारा १ बमोजिम विश्वासको मत माग्न चाहन्छु र विश्वासको मत छ भन्ने कुराको पुष्टी यस सदनले गरोस् भन्ने चाहन्छु,’ उनले भने।