नेकपा एमालेको खनाल-नेपाल समूहका नेता झपट रावलले एकताका लागि गरिएका सबै प्रयास असफल भएको बताएका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा नेपाल पक्षको बैठकमा सहभागी हुने क्रममा सांसद रावलले भने, ‘हामीले अन्तिमसम्म पनि पार्टी एकताका लागि प्रयत्न गरको हौं। तर, केपी ओली कमरेडबाट पार्टी एकताका लागि कुनै पहल, प्रयत्न भएन। एकता भन्दा अझै भाँड्ने काम भयो।’
आफ्नो समूहले आज बिहानसम्म ओलीलाई पार्टी एकताका लागि प्रतिवद्धता जनाउन समय दिएको भन्दै उनले भने, ‘उहाँहरुले प्रयास नै गर्नु भएन। अब बाँकी केही रहेन।’
नेता रावलले अगाडि भने, ‘हाम्रो प्यारो पार्टी, नेपाली जनताको प्यारो पार्टी अब विभाजनको नजिक पुगिसकेको छ। हामी यसमा स्तब्ध छौं।’
उनले ओली नै एकताको विपक्षमा रहेको आरोप पनि लगाए। ‘यो कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न गर्ने दिशातिर स्वयं मुल नेतृत्व जानुभयो। दुःखका साथ भन्नुपर्छ एकताका लागि गरिएका सबै प्रयास असफल भए।’
नेकपा (एमाले) खनाल- नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समयसीमा सकिएको छ।
आफ्नो माग पूरा गर्न लागि उनीहरूले आज (सोमबार) बिहान ९ बजेसम्मको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई समय दिएका थिए।
उक्त समय भित्र प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नजनाएपछि खनाल-नेपाल समूह सामूहिक राजीनामाको बाटोमा जाने तयारी गरेका हुन्।
अहिले माधव समूहका सांसदहरु सिंहदरबारमा जम्मा भएका छन्। केही समय बैठक बसेर कठोर निर्णय लिइने तयारी भएको नेता योगेश भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री ओलीले आजै संसदमा विश्वासको मत लिँदैछन्। त्यो भन्दा अघि नै उनीहरु सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन्।
आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । अहिलेको बैठकमा प्रतिनिधिसभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुनेछ।