ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल वडा अध्यक्षसहित बिहीबार पाटन अस्पताल पुगेका छन्। अस्पतालको समस्या र आवश्यकता बुझ्नका साथै चिकित्साकर्मीको मनोबल बढाउन उनीहरु अस्पताल पुगेका हुन् ।
नगरप्रमुख महर्जनले मुलुकभर कोभिड संक्रमण फैलिरहेको बेला पाटन अस्पतालले गरेको काम प्रशंसनीय भएको बताए। उनले भने, ‘कोरोनाको दोस्रो लहर डर लाग्दो तरिकाले फैलिरहेको छ, यस्तो अवस्थामा पनि पाटन अस्पतालले उच्च स्तरको सेवा पुर्याइरहेको छ, महानगर पाटन अस्पताललाई सहयोग गर्न चाहन्छ ।’
यसअघि ललितपुर महानगरले पाटन अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि एक करोड रुपैयाँ दिइसकेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवि शाक्यले महानगरका जनप्रतिनिधि समक्ष चिकित्सकलाई अहिले हौसला अत्यावश्यक भएको बताउँदै यस्तो भेटघाटले ऊर्जा दिने बताए। उनले भने,‘ महानगरपालिकाले अभिभावकको भूमिका निर्वाह गरेको छ, हाम्रो हौसला बढेको छ, यसले उर्जा दिन्छ।’
अक्सिजन प्लान्ट जडान हुन बढीमा दुई महिना लाग्ने बताउँदै अहिले अक्सिजन सिलिण्डर खरिद गरेर अक्सिजन प्रयोग गरिरहेको शाक्यले जानकारी दिए। कोभिड संक्रमितको प्रकृति अघिल्लो वर्षको भन्दा फरक रहेको बताउँदै उनले भने, ‘जो आउनु हुन्छ, उहाँहरु सबैलाई अक्सिजन चाहिने अवस्था छ । अक्सिजन व्यवस्थापन अस्पतालको मुख्य चुनौती हो, यो चुनौतीलाई अस्पतालले व्यवस्थापन गरिरहेको छ ।’
अस्पतालका मेडिकल डाइरेक्टर डा.इमरन अन्सारीले अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन)ले अक्सिजनको अभावलाई हल गर्न सहयोग गर्ने बताए। यसैगरी अस्पतालले पोर्टेबल भेन्टिलेटर र कोभिड बिरामीको उपचार गर्दा लगाइने विशेष खालको पञ्जा आवश्यक भएको बताए ।
महानगर प्रमुख चिरीबाबु महर्जनले अक्सिजन कन्सन्ट्रेटर, पोर्टेबल भेन्टिलेटर सहितका आवश्यक सामग्रीहरुको विस्तृत विवरण पठाउन अनुरोध गरे । उनले भने, ‘अस्पतालबाट विस्तृत विवरण पाऊँ, त्यसपछि छलफल गरेर निर्णय गर्छौ।’
छलफलमा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन, वडा नं २७ का वडाअध्यक्ष बाबुराज महर्जन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत लीलाराज आचार्य उपस्थित थिए ।