गण्डकी प्रदेशमा कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्न प्रोत्साहन गरिने भएको छ।
प्रदेशस्तरीय कोभिड– १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिव केदारनाथ शर्माले बताए।
'सकेसम्म अस्पतालमै लैजाने हो, नसक्दा होम आइसोलेसनलाई नै प्रभावकारी बनाउने निर्णय भएको छ, आन्तरिक मामिला मन्त्रालयका सचिव समेत रहेका शर्माले भने, 'घरमै बसेका संक्रमितलाई ‘होम आइसोलेसन किट’ निशुल्क उपलब्ध गराउने निर्णय गरेका छौं।’
गण्डकी प्रदेशमा हालसम्म २ हजार ४३ जना सक्रिय संक्रमित छन् । जसमध्ये १५६ जना मात्रै अस्पतालमा उपचाररत छन् भने १ हजार ८८७ जना संक्रमित होम आइसोलेसनमा छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका सरकारी र निजी अस्पतालमा गरी २३२ वटा आइसियु बेड छन्।
होम आइसोलेसनमा बसेका संक्रमितले आफ्नो स्वास्थ्य स्थिति आफैले जानकारी राख्न सक्नेगरी उपकरणको व्यवस्था गर्ने निर्णय गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। ‘होम आइसोलेसन किट’मा सामान्य थर्मोमिटर, अक्सिजन नाप्ने डिभाइस, मास्क, स्यानिटाइजर, पञ्जा लगायत हुने उनले जानकारी दिए।
‘हामीले सबैलाई यो किट वितरण गर्ने भनेका हौइनौं’, डा. शर्माले सेतोपाटीलाई भने, ‘जसले किन्न सक्नुहुन्न उहाँहरुलाई उपलब्ध गराउने भनेका हौं।’ संक्रमितले आफ्नो प्रत्येक दिनको स्वास्थ्य रेकर्ड राख्न फारम समेत उपलब्ध गराइने उनले बताए।
‘बिरामीको आवश्यकता अनुसार स्वास्थ्यकर्मीले मनिटरिङ गर्नुहुन्छ, सिकिस्त विरामीलाई अस्पतालको व्यवस्था हुन्छ’, उनले भने ।
कोरोनाका कारण गण्डकीमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। जसमा एक सातायता मात्रै २१ जनाको मृत्यु भएको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको निर्देशक डा. शर्माले बताए।
समितिका संयोजक एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिलाई अझै सक्रिय र प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय पनि गरेको छ ।
कोरोना रोकथामका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसोलेसन बनाउन तत्काल ६२ लाख रुपैयाँ दिने निर्णय भएको छ। उक्त अस्पतालमा अहिले कोरोना संक्रमितका लागि ४० बेड छुट्याइएको छ भने अस्पतालमा २७ संक्रमित उपचाररत छन्।
प्रदेशले जिल्ला अस्पताल र संक्रामक अस्पतालका लागि आवश्यक डाक्टर र स्वास्थ्य प्राविधिक उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको छ। प्रदेशले करारमा नियुक्त गर्न विज्ञापन खुलाएपनि आवश्यक डाक्टर र आइसियू संचालन गर्न चाहिने जनशक्ति पाउन नसकेको सचिव शर्माले बताए।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको दरबन्दी तत्काल पदपूर्ति गर्न पनि बैठकले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ।