नेकपा एमालेका दुई सांसदले आफूहरूले राजीनामा नदिएको स्पष्ट पारेका छन्। सांसदहरू धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले राजीनामा नदिएको बताए। उनीहरूमध्ये एक जना हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहका सांसद हुन्। दुबैले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए।
'हाम्रो शंकर पोखरेलको नाममा असहमति हो', सांसद श्रीवास्तवले भने, 'मैले र अजय शाहीले राजीनामा दिएका छैनौं। हाम्रो शंकर पोखरेलको नाममा सहमति छैन।'
उनले आफूहरूले एमाले संसदीय दलको बैठकमा सहभागिता जनाउने गरेको भए पनि सधैँ माइन्यूटमा स्वतन्त्र राजनीतिक समूह उल्लेख गर्ने गरेको बताए।
'आज पनि हामी संसदीय दलको बैठकमा गयौं तर हामीले निर्णयमा हस्ताक्षर गरेको छैन', उनले भने, 'हाम्रो हस्ताक्षर उपस्थितिका लागि मात्र हो। हाम्रो हस्ताक्षर जोडेर मुख्यमन्त्री भएकोमा आपत्ति हो।'
यसअघि नेकपा एमालेबाट निर्वाचित सांसद दूगनारायण पाण्डेयले श्रीवास्तव र शाहीले पनि राजीनामा दिएको बताएका थिए।
यी दुई जना सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनु पर्ने भन्दै प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई ४२ सांसदले पठाएको पत्रमा हस्ताक्षर गरेका छन्।