नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग बहुमत नरहेको बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पुनले नेकपाबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रको सांसद बनेकाले पोखरेलसँग बहुमत नरहेको बताए।
'मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव आएको छ। उहाँले यसको सामना गर्नुपर्छ। यदि सक्नुभएन भने अविश्वासको प्रस्ताव दर्ता गर्ने व्यक्ति मुख्यमन्त्री बन्छ,' उनले भने, 'सांसदहरूले समावेदन दिएर बोलाइएको प्रदेश सभा उहाँले अन्त्य गर्न मिल्दैन। त्यसको लागि संसद बैठक बस्नुपर्छ। अर्को कुरा उहाँसँग जुन बहुमत छ भनिएको छ त्यो सत्य होइन।'
प्रदेश सभामा अहिले ८१ सांसद कायम छन्। जसमध्ये एमालेका ४१ सांसद छन् भनिएको भए पनि नेकपा हुँदा निर्वाचित विमला वली माओवादी प्रवेश गरेपछि एमालेसँग ४० मात्रै सांसद रहन्छन्।
एमाले प्रदेश सभाको ठूलो दल भए पनि बहुमत प्राप्त दल होइन।