कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिस गरेको जनाइएको छ ।
उक्त सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ।
बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो।
बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
झापाको काँकडभिट्टा, मोरङको जोगबनी, इलामको पशुपतिनगर, धनुषाको भिठ्ठामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ। खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ।
बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। यस्तै सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बैठकले संघीय मन्त्रीहरुलाई प्रदेशसँग समन्वय गर्न सिफारिस गरेको छ ।
साथै उद्योगहरुले मजदुर कर्मचारीलाई उद्योग परिसरमै राख्नुपर्ने निर्णय गरेको छ। सार्वजनिक निर्माण कार्यहरु रोक्न पनि भनेको छ । बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सचालनका लागि तयारी थाल्ने निर्णय पनि गरेको एक सदस्यले जानकारी दिए। रासस