प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज सूचना प्रविधि भवनको उद्घाटन गरेका छन्।
कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
‘प्रधानमन्त्री ओलीले बालुवाटारबाटै रोबोटयन्त्रको सहायताले भवनको रिवन काट्दै शीलास्तम्भ अनावरणसमेत गर्नुभयो,’ प्रधानमन्त्री कार्यालयले भन्यो।
साथै प्रधानमन्त्री ओलीले नागरिकलाई जीवन उपयोगी शिक्षा दिन सरकार लागिपरेको बताए।
प्रतिष्ठानले विगत दुई दशकभन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिँदै आएको छ। हालसम्म ३३ हजारभन्दा बढी व्यक्तिले प्रतिष्ठानमार्फत् व्यावसायिक तालिम पाइसकेका छन्।
कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो। कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि र सूचना प्रविधिकसँग अभ्यस्त गराउने तयारी छ।
यो भवनमा इपुस्तकालय पनि छ।