नेकपा एमालेले कर्णाली प्रदेश सभाको चौथो वैठक अवरुद्ध गरेको छ। बुधबार बसेको वैठकको सुरुमा समय मागेर नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले संसद अवरुद्ध गर्न आग्रह गरेका थिए।
कोरोना महामारीका कारण जनता आक्रान्त बनेकाले संसद् वैठक सञ्चालन गर्न नहुने धारणा उनले राखेका थिए। ‘विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएका बेला, जनता पीडामा छन्,’ शाहले भने, ‘यस्तो बेलामा संसद् वैठक पनि चल्नु हुँदैन भनेर हामीले बारम्बार भनेका छौं।’
सभामुखले दलीय सहमतिबाट अगाडि बढ्दै संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेले भने सरकार पूर्वाग्रही भएकाले आफ्ना कुरा सुन्न नचाहेको आरोप लगाएको छ।
एमालेका सांसद्हरु लगातार उभिएर संसद् चल्न नदिएपछि अर्को सूचना नभएसम्मका लागि चौथो वैठक स्थगित गरिएको छ ।
आजको वैठकमा सामाजिक विकास मन्त्री विमला केसीले जवाफ दिने कार्यसूची थियो। तेस्रो बैठकमा सांसद्हरुले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश सरकारले गरेका कामहरुको बारेमा प्रश्न गरेका थिए ।
‘सभामुखज्यूले त्यही दिन सरकारलाई जवाफ दिन रूलिङ गर्नुपथ्र्यो, त्यति नभए पनि आज जवाफ दिने भन्ने कुरा थियो । बैठक अवरुद्ध भयो,’ मन्त्री विमला केसीले सेतोपाटीसँग भनिन् ‘आजै कोरोना रोकथामका लागि काम गर्न सर्वदलीय संयन्त्रको कुरा उठाउने योजना पनि थियो।’
मन्त्री केसीले कोभिड–१९ को निहुँ पारेर सरकारलाई असफल बनाउन संसद अवरूद्ध गर्न थालिएको बताईन्। सेतोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘अहिले संसदले विजनेश पाएको बेला छ, यस्तो बेलामा सरासर काम पो गर्ने हो त । कि उहाँहरु सदनमै नआउन सक्नुहुन्थ्यो। आईसकेपछि अवरुद्ध गरेर सरकारलाई असफल बनाउन खोजेको हो ।’
हाल कर्णाली प्रदेश सभाको सातौं अधिवेशन चलिरहेको छ। अब बजेट अधिवेशन आह्वान गर्नुपर्ने बेला भएकाले पनि यो अधिवेशन चाँडै अन्त्य गर्नुपर्ने अवस्था छ ।
‘बजेट अधिवेशन बोलाउन यो अधिवेशन छिट्टै अन्त्य गर्नुपर्छ, यो बेलामा त सरकारलाई असफल बनाउन लाग्नुभन्दा बाँकी रहेका काम गर्ने हो नि त,’ मन्त्री केसीले भनिन् ।