गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदैछ।
अहिले प्रदेश सभा सदस्यहरूले अविश्वासको प्रस्तावमाथि छलफल गरिरहेका छन्।
मंगलबार प्रदेश सभा सदस्यहरूको पिसिआर परीक्षण गरिएको थियो। परीक्षणमा तीन जना सदस्यहरूलाई कोरोना पुष्टि भएको छ।
अविश्वास प्रस्तावमाथि छलफल गरी मुख्यमन्त्री गुरूङले जवाफ दिने र त्यसपछि मतदानमा जाने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ।
प्रदेश सरकारविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले वैशाख २ गते संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारले वैशाख १ गते मध्यरात संसदको हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो।
अविश्वास प्रस्तावमा छलफल गर्न वैशाख १३ गते सुरू भएको प्रदेश सभाको विशेष अधिवेशनमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले उक्त अविश्वास प्रस्ताव टेबल गरेका थिए। अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता नेपालीलाई प्रस्तावित गरिएको छ।
अविश्वास प्रस्तावको पक्षमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन्। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले भने अविश्वास प्रस्तावमै हस्ताक्षर गरिसकेका छन्। यी चार दल मिल्दा नयाँ सरकार गठन गर्न पुग्ने बहुमत ३१ पुग्छ।
गण्डकी प्रदेशमा एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद छन्। पूर्वसहमति अनुसार मतदान भए कांग्रेस संसदीय दलका नेता नेपाली गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीमा निर्वाचित हुनेछन्।