नेपाल कम्युनिष्ट आन्दोलनका शिखर पुरुष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सोमबार २२ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ।
नेकपा (एमाले) का संस्थापक अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री अधिकारीको स्मृतिमा यस वर्ष औपचारिक कार्यक्रम गरी मनाउन नसकिए पनि उनको सम्झनामा विभिन्न व्यक्तित्वहरुले काठमाडौंको सानेपामा पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन्।
मनमोहन स्मृति प्रतिष्ठान र नेकपा एमालेले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आए पनि यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण कुनै औपचारीक कार्यक्रमको आयोजना भएन।
२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफै बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरु शुरु गरेको थियो । अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले स्मरण गरिरहेका छन् ।
वि.सं. १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मिएका अधिकारी सरल, शालीन र सादगी जीवन विताउने नेताको रुपमा पनि चिनिन्छन्।
स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्धान्त र मूल्य मान्यता अहिले पनि अनुकरणीय र सान्दर्भिक रहेको छ ।
यसैबीच नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मनमोहन अधिकारीको आदर्श र मूल्य मान्यताबाटै एमालेका नयाँ पुस्ताका कार्यकर्ता अघि बढ्नुपर्ने बताएका छन् ।
२३ औं मनमोहन स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका पोखरेलले विज्ञप्ति जारी गरी पार्टी एकताको पक्षमा एकढिक्का भएर उभिन मनमोहन सबैको प्रेरणाको स्रोत बन्ने बताएका छन् ।
स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका हुन् ।
‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्,’ उपप्रधानमन्त्री पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको उल्लेख गर्दै पोखरेलले भनेका छन्, ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’
पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेकोसरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए । ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो ।
तत्कालीन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।,’ विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो।